इन्जिनियर कुटिएपछि गाउँपालिकाको कामकाज ठप्प

इन्जिनियर कुटिएपछि गाउँपालिकाको कामकाज ठप्प

मुसिकोट । कार्यालय जाने क्रममा कर्मचारी कुटिएपछि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाकाको कामकाज रोकिएको छ । बुधबार गाउँपालिकाका इन्जिनियर रेशम लम्सालमाथि आक्रमण भएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले सेवा रोकेका हुन् ।

इन्जिनियर लम्सालमाथि हातपात भएको घटनामा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी न्यायिक निरुपण नहुँदासम्म गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प पारेको एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन् । कर्मचारीलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने अवस्था नभएको भन्दै कर्मचारीहरुले सबै सेवा रोकेका हुन् ।

कर्मचारीहरुले इन्जिनियर लम्सालमाथि बजारमा हातपात गरेको घटनाले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । प्राविधिक मुल्याङकनमा नियम विपरित गर्न दबाव दिने, लागत अनुमान बेगरको मुल्याङकन उठाउन दबाब दिने, नउठाए जे पनि हुन सक्ने भनी धम्की दिने जोसुकै भएपनि कानुनी कठघरामा उभिनुपर्ने कर्मचारीहरुको माग रहेको छ ।

कर्मचारीहरले स्थानीय तहमा कार्यरत कर्मचारीको सेवाको सुरक्षाको प्रत्याभुति हुनपर्ने र दोषीमाथि कडा भन्दा कडा कारवाही हुनपर्ने माग गरेका छन् । कारबाहि नभएसम्म गाउँपालिकाको सबै सेवा ठप्प हुने उनीहरुको भनाई रहेको छ ।

इन्जिनियर लम्सालले योजनाको लागत रकम कम मुल्यांकन गरेको भन्दै कुटपिट भएको थियो । सानीभेरी गाउँपालिका –९ स्थित सिम्ली बजारबाट कार्यालय जाँदै गर्दा सानीभेरी गाउँपालिका –३ का गोविन्द ओलीले सिम्ली बजारमै इन्जिनियरलाई कुटपिट गरेको बताईएको छ ।

सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेल्टापु रंगशाला निर्माणको मुल्याङकनलाई लिएर इन्जिनियरमाथि कुटपिट भएको बताईएको छ । इन्जिनियरमाथि कुटपिट गर्ने ओलीलाई सिम्ली स्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार