उठाउनु हाेला हात लुताे फाल्ने जति
भन्छु म त चिलाएकाे कुरा अलिकति ।
चिलायाे नि लुताे सधैं हिजो अस्ति जैले
साउनकाे एक पारी लुताे फालें मैले ।
सरजाम के के थिए भन्नुहाेला फेरि
जेजे मिल्छ जंगलमा खाेजी ल्याएँ हेरी ।
भलायाेकाे पात अनि भक्किम्लाेकाे पात
कुरिलाे र धसिङ्गरे ल्याए अनेक् जात
सिस्नाे, उन्यु , सिउँडी र खाेजें पानीसराे
पुरेनी र तीतापाती राेजें देवीसराे
कागती र नसपाति ,अम्बा चढाएर
कण्डारक पूजा गरें वेदी बनाएर
लुताे लैजा ए फलाना ! भन्दै कराएर
फालिदिएँ अगुल्टो नि आगाे सल्काएर ।
भन्नुहाेला केकाे लुताे फाल्नुभयाे राम ?
फाल्नै पर्छ भन्नुहुन्छ लिए मैले नाम ।
उहिलेकाे कुरा हाे याे धेरै वर्ष भयाे
जनताकाे माझ लुताे हाबी हुँदै गयाे ।
कुनै दिन लुते मुसा कानाखुसी गरे
मुसाराज चलाउने निधाे आफै गरे ।
जालाे फाले जनतामा आशे बाली छरे
हाेला त नि भनी जन यिन्कै भर परे ।
दर्बारकाे बुढाे सिंह फाल्नु पर्छ भने
सिंह फाल्ने मुसा पछि आफै सिंह बने ।
लुताे ल्याए कताबाट देशैभरि सारे
चिलाएर मार्नेै आँट्याे कस्ताे राेग सारे ?
कुटुम्बकाे इसारामा ल्याएकाे याे लुताे
भित्र भित्रै खाेक्राे पार्याे देशै पार्याे ढुटाे ।
आफू खान्छन् माेटाउँछन् भुँडी चर्काउँछन्
खबर्दार खाला काेही भनी थर्काउँछन् ।
कैले गर्छन् ङ्यार्र ङुर्र लडे जस्तै गर्छन्
माल पाए मिलिजुली आफ्नै भुँडी भर्छन् ।
व्यवस्था नै लुते हाे कि व्यक्ति परे लुते
कस्ताे हाेला लुतेलाई शक्तिबाटै थुते ?
त्यसैले त हिजो साँझ लुताे फालें मैले
चाहिदैन चिलाउने लुताे सबै लैदे ।
रामप्रसाद पन्थी
रे न पा २ छापटाेला ,गुल्मी