साँखदह बन्यो पर्यटकीय गन्तव्य

साँखदह बन्यो पर्यटकीय गन्तव्य

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । मुसीकोट नगरपालिका–७ मा पर्ने यो गाउँ निकै सुन्दर छ । लेकाली क्षेत्रमा रहेको समथर भूभागमा रहेको साँखगाउँको बीचमा रहेको दहका कारण पनि साँखगाउँ चर्चामा छ । साँखगाउँमा रहेको साँखदह पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

दह अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । मध्यपहाडी लोकमार्ग छेउमै रहेका कारण पनि यो दह पर्यटकको रोजाइमा परेको हो । साँखगाउँको पूर्वतिर एउटा टापु छ । उक्त टापुबाट साँखगाउँ र गाउँ रहेको दह देखिने भएकाले मध्यपहाडी लोकमार्ग हँुदै यात्रा गर्ने यात्रु गाउँ र दहको अवलोकन गरेरमात्र फर्कन्छन् ।

पछिल्लो पटक स्थानीय तहले दह वरपर विभिन्न संरचना निर्माण गरेपछि दह झनै हेर्न लायक भएको छ । बर्खाको समयमा दहमा पानी भरिएका कारण पनि सुन्दर देखिने स्थानीयवासी गोविन्द मगरले बताउनुभयो । “पहिला–पहिला दह हेर्न कोही पनि आउँदैन थिए, जब मध्यपहाडी लोकमार्गमा गाडी चल्न थाले बिस्तारै यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो । “दहमा नयाँ संरचना पनि बनेका रहेछन्, पहिलाभन्दा दह हेर्न लायक बनेको रहेछ”, यहाँ घुम्न आउनुभएका गोपाल रावतले भन्नुभयो ।

दहमा प्रवेशद्वार, प्रतीक्षालय र दह वरिपरि ढुङ्गा बिच्छ्याइएको छ । “पहिला दह हेर्न आउँदा केही व्यवस्थित थिएन, भैँसी आहाल बसेका हुन्थे, अहिले संरक्षण गरिएको छ”, उहाँले भन्नुभयो । पर्यटन प्रवद्र्धनका लागि दह वरिपरि विभिन्न संरचना निर्माण गरिएका वडाअध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब दहमा स्थानीयका पशुचौपाया जान पाउने छैनन्, ताल अवलोकनका लागि सहज भएको छ ।”

दह परिसरमा दुई प्रतीक्षालय, दह वरिपरि ढुङ्गा बिच्छ्याएको बाटो, रेलिङ र दह वरिपरि पर्खाल निर्माण गरिएको छ । त्यस्तै दह वरिपरिबाट आएको पानी निकासका लागि नालासमेत निर्माण गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

ताललाई व्यवस्थित बनाई सुन्दरता बढाउने उद्देश्यले विभिन्न संरचना निर्माण गरिएका छन् । अब ताल अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिँड्न सकिने र थकाइ लागेमा प्रतीक्षालयमा आराम गर्न सकिने वडाध्यक्ष पाण्डेको भनाइ छ । ताल बर्खामा भरिन्छ भने हिउँदमा पानीको मात्रा अरुबेला भन्दा कम हुनेगर्छ । ताललाई बाह्रै महिना भरिभराउ बनाउनका लागि बाहिरबाट पानी ल्याएर हाल्ने योजना रहेको छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको यो ताल मुसिकोट नगरपालिकाको आकर्षक गन्तव्य बन्ने स्थानीयको विश्वास छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार