उखानकाे बखान गर्छु भन्नुभयाे बाले
मैले पनि ध्यान दिई खुब सुन्न थालें।
पशुपति जात्रा बीच सिद्राकाे छ व्यापार
अधम् खेती मध्यम् जागिर् उत्तम् भयाे व्यापार
आकाशकाे फल भयाे आँखा तरी मर
साँढेहरू जुध्छन् यहाँ बाच्छा जति मर ।
बाँदरका हात पर्याे नरिवल फल
फुर्तीसाथ बग्छन् यहाँ खहरेका भल ।
नजिकैको तीर्थ भयाे सधैंभरि हेला
हेला जस्लाई गर्छाै आज भाेलि पर्छाै फेला ।
काला अक्षर भैंसी भन्ने ठूला मान्छे भए
काम गर्ने कालू यहाँ खाने भालु भए ।
जाे छ हाेचाें उस्कै मुखमा काेचिदिन्छन् घाेचाें
साेझाे पाए बनाउछन् बलीकाे त्याे बाेकाे ।
बर्मा गए कर्मसँगै नेपाल आए कपाल
चढाएर रूखमाथि भन्छन् भूइँमा खसाल ।
धाकभन्दा धक्कु ठुला हिडे खुट्टा लुला
जति जाेगी आए पनि कान चिरेका मुला ।
नबर्सिने मेघ धेरै गर्जन मात्रै गर्छ
नटाेक्ने त्याे कुकुरले भुक्ने धेरै गर्छ ।
चाेरलाई चाैताराे छ साधुलाई सुली
कुम्भकर्ण सुती बस्छ काम कुरा भुली ।
नमच्चिने पिङ धेरै झड्का दिने गर्छ
साक्षी भई बिरालाले दुधकाे रक्षा गर्छ ।
सबै कुकुर काशी गए विष्टा कस्ले खाला
कार्तिककाे कुकुर भन्छ गए कानै जाला ।
कागलाई बेल पाक्याे न छ हर्ष विस्मात
पुर्पुराेमा आलु फल्छ भयाे भने किस्मत ।
धन देखे महादेवका तीन नेत्र खुल्छन्
आफ्नाे सम्झी ओैंलाे दिए डुँडुल्नाे नै निल्छन् ।
नदिने ती बराजुले बुधबार बार्छन्
हात्ती आयाे हात्ती आयाे फुस्स मात्रै पार्छन्
कराउछ काग यता पिना उता सुक्छ
अचानाकाे चाेट कहाँ खुकुरीले बुझ्छ ।
आजलाई यत्ति है त मेरी सानू नानू
उखानका कुरा यस्तै अझ बुझ्दै जानू ।
उखानका कुरा धेरै सिकें आज मैले
घाँटी हेरी हाड निल्ने कुराे बुझें ऐले ।