मुसिकोटका उपप्रमुखद्वारा कर्मचारीमाथि हातपात

मुसिकोटका उपप्रमुखद्वारा कर्मचारीमाथि हातपात

मुसिकोट । रूकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपप्रमुखले कार्यकक्षमै शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन्।

नगरपालिकाका उपप्रमुख विमल कुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा काम गरिरहेको समयमा शनिबार बिहान ११ बजेतिर कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी दिएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार शिक्षा शाखा अधिकृत ओलीले उपप्रमुख पुनले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।

शनिबार बिहान ११ बजेतिर कार्यालयकै काम गरिरहेको समयमा ओलीलाई उपप्रमुख पुनले हातपात गरेको मुसिकोटको १ को त्रिभुवन जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले बताए। ‘उच्च माध्यमिक तहको लेखा विषयको शिक्षक पदपूर्तिको लागि प्रश्नपत्र बनाउने लगायत आवश्यक काम भइरहेको थियो,’ उनले भने, ‘म काम विशेषले मेयरको कार्यकक्षमा प्रवेश गर्दा हल्लाखल्ला भएपछि गएर हेर्दा त्यहाँ वातावरण अलग भइसकेको देखेको थिएँ।’ आफू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा पुग्दा ल्यापटप भुइँमा खसेको, कागजपत्रहरू यत्रतत्र फालिएको र शिक्षा शाखा प्रमुखको आँखाभरि आँसु देखेको उनले बताए।

घटना पछि अध्यक्ष केसीले शिक्षक पदपूर्तिको लागि आज हुने भनिएको लिखित तथा मौखिक परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन ।

मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले आफ्नै कार्यकक्षमा शिक्षा अधिकृतमाथि उपप्रमुखबाट हातपात भएको बताए । परीक्षा निश्पक्ष र मर्यादित बनाउने गरेर तयारी भईरहेको बेला उपप्रमुखबाट दुव्र्यवहार भएको उनको भनाई छ ।

उता उपप्रमुख पुनले आफूले कर्मचारीलाई हातपात नगरेको प्रतिक्रिया दिएका छन । शनिबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उप प्रमुख पुनले आफूले अनियमित तरिकाले बिद्यालयको कर्मचारी भर्ना गर्न खोज्ने प्रक्रिया रोक्न माग गरेको बताएका छन । सेटिङ मिलाएर कर्मचारी भर्ना गर्न खोज्ने प्रवृतिको अन्त्यका लागि आफू लागि परेको उल्लेख गर्दै उनले कोहि कर्मचारी माथि हातपात नगरेको दाबी गरेका छन ।

यस्तै न्याय समितिका संयोजक समेत रहेका उपप्रमुख पुनले कानुन हातमा लिने गलत काम गरेको भन्दै विभिन्न पेशागत संघ संगठनहरूले घटनाको निन्दा गरेका छन्।

नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष देवबहादुर वली र सचिव कमल केसी र नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष देवबहादुर खड्काले विज्ञप्तिमार्फत् कानुन हातमा लिने उपमेयर पुनलाई कारबाहीको माग गरेका छन्।

त्रिभुवन जनता उच्च माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले शिक्षक पदपूर्तिको लागि तोकिएको परीक्षा स्थगित गरिएको जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार