मुसिकोट । सोमबार बिहान रुकुम पश्चिमको सल्ले विमानस्थलमा एकाएक ठूलो आगो बल्यो। बिहानै विमानस्थलमा आगो बलेको देखेपछि धेरैले आगालागी वा विमान दुर्घटनाको अनुमान गरे। तर, त्यो वास्तविक आगालागी वा विमान दुर्घटना भने थिएन।
विमानस्थलमा हुनसक्ने विमान दुर्घटना र त्यसपछिको उद्दार, आगालागी नियन्त्रण कसरी गर्ने भन्नेबारे अभ्यास गरिएको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा नेपाली सेना, जनपद प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी, चिकित्सकको भूमिकालाई समेटेर आपतकालीन अभ्यास गरिएको हो। यो अभ्यासले भविष्यमा हुनसक्ने दुर्घटना र त्यसपछिको क्षतिलाई कम गर्न सहयोग पुग्ने चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी बरुण केसी खत्रीले जानकारी दिनुभयो ।
अभ्यासका क्रममा कुनै काल्पनिक जिल्लाबाट उडेको १९ यात्रु सहित उडेको विमानमा इन्जिन खराब भई दुर्घटनाग्रस्त भएको क्षणको उद्धार कार्यलाई देखाइएको थियो ।
दुर्घटनामा विमानमा लागेको आगो नियन्त्रण गर्ने तरिका, घाइते यात्रुहरुको उद्धार र उपचार विधिबारे प्रस्तुती देखाइएको थियो
दुर्घटनामा ज्यान गुमाएकाहरूको शव संकलन गर्ने र घाइतहरूको उद्धार अभ्यास गरिएको थियो । घाइतेहरूलाई एम्बुलेन्स बाट उद्धार गरी जिल्ला अस्पतला सल्लेमा पुर्याइएको थियो ।
त्यस्तै विमान दुर्घटना भएको अवस्थामा विमानस्थल सञ्चालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न डमी अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा नेपाली सेनाको चण्डी दल गण सल्ले र जिल्ला अस्पताल सल्लेको संयुक्त आयोजनामा नमुना अभ्यास गरिएको हो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुन, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, रेडक्रस, विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

















