संविधान दिवसको अवसरमा पत्रकार महासंघ रुकुम पश्चिमद्वारा रक्तदान

संविधान दिवसको अवसरमा पत्रकार महासंघ रुकुम पश्चिमद्वारा रक्तदान

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले नवौ संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघले मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताल, नेपाल रेडक्रस सोसाइटी रुकुम शाखा र उपशाखा चौरजहारीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्त सहित १७ जनाले रक्तदान गर्नुभएको नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटीले चौरजहारीमा सञ्चालन गरेको ब्लड बैंकमा उपलब्ध गराईएको छ ।

रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरु जाजरकोट, सल्यान, रुकुम पूर्व र डोल्पा समेतका बिरामीहरुको सेवाको लागि सञ्चालित उक्त ब्लड बैंकमा रगत अभाव नहोस् भनेर संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले बताउनुभयो । रगतको अभावमा कुनैपनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले रक्तदान गरिएको हो ।

सरकारी कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, पत्रकार र गैरसरकारी निकायका व्यक्तिहरुले स्वतस्फूर्त रुपमा रक्तदान कार्यमा सहभागि भएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

रक्तदान कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतम, उप प्रमुख देवबहादुर बि.क., प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, चण्डीदल गण सल्लेका गणपति प्रमुख सेनानी बरुण केसी खत्री, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाका सभापति रमा गौतम, चौरजहारी उपशाखाका सभापति तेजबहादुर बटाला, चौरजहारी अस्पतालका सहायक प्रशासक पूर्ण बहादुर थापा, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य निरीक्षक कालिबहादुर ओली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रक्तदान गर्ने रक्तदाता र प्राविधिक सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई महासंघको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता र पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष गोपाल रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव हिरा परियारले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार