मुसिकोट । रुकुम पश्चिमको रुकुमेली समाज विकास केन्द्र स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको छ ।
समाजमा जातपात छुवाछुुत तथा सबैखाले भेदभावको अन्त्य गरी समुन्नत तथा समतामुलक समाजको निर्माणमा टेवा पुर्याउने परिकल्पनाका साथ २०६१ साल कार्तिक २६ गते स्थापना भएको यस संस्थाले सोमबार खलंगामा १८ औं वार्षिकोत्सव मनाएको छ ।
विभिन्न सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाको सहयोगमा रुकुम पश्चिम र पूर्वका ९ वटै स्थानीय तहहरूमा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९/०८० बार्षिक प्रतिबेदन संस्थाका सचिब केसन कुमार क्षेत्रीयालले प्रस्तुत गर्नुभएको थियो ।
उक्त परियोजना मार्फत रुकुम पूर्व र रुकुम पश्चिम गरेर प्रत्यक्ष रूपमा ६१ हजार ८ सय ६३ जना लाभान्वित भएको वार्षिक साधारण सभामा पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।
विभिन्न किसिमका आयआर्जन, जनचेतनामूलक, रोजगारमूलक, कृषि, वन, खानेपानी, जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य तथा पोषणका क्षेत्रमा संस्थाले काम गरिरहेको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष नरबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतो, प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, सशस्त्र प्रहरी निरीक्षक जालन्दर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, गैरसरकारी संस्था महासंघका अध्यक्ष भिमराज ओली, उद्योग बाणिज्य संघका उपाध्यक्ष रबिन्द्र विष्ट, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, संस्थाका आजीवन सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।