प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सक्छौं : मुख्यमन्त्री शर्मा

प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सक्छौं : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्राङगारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्राङ्गारिक कृषि, वर्तमान अवस्था तथा भावी कार्यदिशा’ विषयक प्रदेशसभा सदस्य तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले प्राङ्गारिक कृषि प्रदेश निर्माणको सवाल सान्दर्भिक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले प्राङ्गारिक प्रदेश निर्माणका लागि अभियान थालेको छ । यो चुनौतिपूर्ण भएतापनि महत्वपूर्ण मुद्दालाई गम्भीरताका साथ लिनुपर्दछ ।”
प्राङ्गारिक कृषि उत्पादनको अभियानले यसको महत्व, आवश्यकता बढ्दै गइरहेको बताउँदै मुख्यमन्त्री शर्माले सरोकारवालाहरुबीचको बुझाइमा एकरुपता कसरी ल्याउने भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार प्राङ्गारिक कृषिका लागि रासायनिक मलको विकल्प दिन सक्छौं सक्दैनौं भन्नेमा पनि गहिरिएर मनन् गर्नुपर्दछ । वातावरणीय प्रभावलाई नियन्त्रण गर्ने विषयवस्तुमा रहेर छलफललाई सघनरुपमा चाल्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “कर्णालीमा भोक र रोगको अन्तर छ । गरिबी छ । अर्गानिक भन्दा पनि पेट भर्न पाए हुन्थ्यो भन्ने समस्या पनि हामीमा छ । यस्ता चुनौतिलाई क्रस गर्दै उत्पादनको परिमाण नघट्ने गरी कृषि क्षेत्र विकास गर्न सक्यौं भने पर्यटकहरुको आकर्षण पनि त्यत्तिकै बढ्ने देखिन्छ ।” प्राङ्गारिक कृषिबाट पर्यटनको विकासका लागि संघ र प्रदेशको बीचमा बहस एवं छलफल हुनुपर्ने भन्दै उहाँले प्राकृतिक विपत्तिको सामना गर्न प्रकृतिको संरक्षणका लागि सबै सरोकारवालाहरुलाई साझा चिन्तनका साथ ऐक्यवद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार