इजरायलमा ज्यान गुमाएकाहरूको सम्झनामा रुकुममा दीप प्रज्वलन

इजरायलमा ज्यान गुमाएकाहरूको सम्झनामा रुकुममा दीप प्रज्वलन

मुसिकोट । इजरायलको युद्धमा मृत्यु भएका नेपाली विद्यार्थीहरुको सम्झनामा रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा दीप प्रज्वलन गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १ त्रिवेणी चोकमा बैङ्क तथा वित्तीय संस्थाहरूको अगुवाईमा मृतकको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो । सहभागीहरूले मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।

हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए । इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए ।

उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार