मुसिकोट । विभिन्न समस्यामा परी कानुनी उपचारको लागि प्रहरी कार्यालयमा आउने नागरिकहरुको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले २५ वटा प्रहरी इकाईमा ‘पीडित सहायता कक्ष’ स्थापना गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले एकै पटक जिल्ला भरमा पीडित सहायता कक्षको शुभारम्भ गर्नुभएको हो ।
कर्णाली प्रदेशको सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सहित जिल्लाभरका २५ वटा प्रहरी इकाईमा पीडित सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।
सहायता कक्ष मार्फत उजुरी लिएर आउने पीडितलाई परामर्श सहित कानुनी उपचारको बारेमा पनि जानकारी गराइने उहाँले बताउनुभयो ।
त्यस्तै प्रहरी कार्यालयमा पीडितले दिएका उजुरीको अवस्था के छ भन्ने बारेमा पीडितलाई प्रत्यक्ष फोन गरेर दैनिक रूपमा जानकारी गराइने छ । यसबाट पीडितले आफूले दिएको उजुरीमा के भइरहेको छ भनेर थाहा पाउने र प्रहरी प्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

