मुसीकोट । भूकम्पको कारण रुकुम पश्चिममा सात जना घाईते भएका छन् ।
सोमबार दिउँसो ४ बजेर ३४ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु आएको ५.८ रेक्टरस्केलको भूकम्पले सात जना घाईते भएका हुन् ।
जिल्लाको आठविसकोट नगरपालिकामा चार जना, चौरजहारी नगरपालिकामा दुई जना र सानीभेरी गाउँपालिकामा एक जना सात जना घाईते भएका हुन्।
आठविसकोट नगरपालिकाका प्रमुख नगर प्रमुख रबि केसीका अनुसार वडा नम्वर ११ का ३७ वर्षिय बिरबाहदुर बुढा, सोहि वडाका ३० वर्षिया सुवासना आग्री, वडा नम्वर १२ निवासी २२ वर्षिय सुरज बिक र सोहि वडाका ५ वर्षिया ज्ञानिल बिक घाईते हुनुभएको छ ।
घाईते चार जनाको उद्धार गरेर अहिले राडिबजारस्थित नगर अस्पतालमा उपचारको लागि भर्ना गरिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।
त्यसैगरी भूकम्पमा परेर घाईते चौरजहारी नगरपालिका ४ का १५ वर्षिया लक्ष्मी नेपाली र वडा नम्वर ७ का ३१ वर्षिय उदयराज कामीको चौरजहारी अस्पतालमा उपचार भईरहेको छ ।
सानीभेरी गाउँपालिका ४ आमलाटाकुरा गाउँका घाईते एक जनाको सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा उपचार भईरहेको छ । घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।