मुसिकोट । नेपाली काँग्रेसले भुकम्प प्रभावित क्षेत्रमा निर्माण गरेका ७५ वटा अस्थायी आवास भूकम्प पीडितलाई हस्तान्तरण गरेको छ ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको विभिन्न वडामा निर्माण भएका ५० वटा र सानीभेरी गाउँपालिकामा निर्माण भएका २५ वटा अस्थायी आवास लाभग्राहीलाई हस्तान्तरण गरिएको हो ।
आठविसकोटको ११, १२, १३ र १४ मा र सानीभेरी गाउँपालिकाको वडा नम्वर १,३,४, ५, ७ , ८ र ११ मा निर्माण भएका अस्थायी आवास लाभग्राहीलाई हस्तान्तरण गरिएको हो ।
आठविसकोटमा निर्माण भएका आवास नेपाली काँग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले लाभग्राहीलाई अस्थायी आवास हस्तान्तरण गर्नुभएको हो भने सानीभेरीमा निर्माण भएका आवास केन्द्रीय सदस्य गुरु बरालले हस्तान्तरण गर्नुभएको नेपाली काँग्रेस रुकुमका प्रवक्ता लाल बहादुर ओलीले जानकारी दिनुभयो । काँग्रेसले रुकुम पश्चिममा ५ सय वटा अस्थायी आवास निर्माणको योजना बनाएको छ ।
जिल्लाको आठविसकोट नगरपालिकामा केन्द्रिय सदस्य अजयबाबु सिवाकोटी र सानीभेरी गाउँपालिकामा गुरु बरालको नेतृत्वमा अस्थायी आवास निर्माण भैरहेको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार टहरा निर्माणको लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेर जस्तापाता किन्न सहयोग गरेका छन् । अस्थायी आवास निर्माणको काम जारी रहने सभापति ओलीले बताउनुभयो ।


 
					
							 
			 
                             
                             
                             
                             
                            