रुकुम पश्चिम : भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सेना–प्रहरी खटाइयो

रुकुम पश्चिम : भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सेना–प्रहरी खटाइयो

मुसिकोट । रुकुुम पश्चिममा भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणको लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाको भूकम्प प्रभावित क्षेत्र आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा नेपाली सेनाको टोली परिचालन भएको हो । यस अघि भूकम्प पीडितको घरको क्षतिको मुचुल्का बनाउन, अस्थायी आवासमा सहयोग गर्न नेपाल प्रहरीको टोली प्रभावित क्षेत्रमै रहेको छ ।

सुरक्षा निकायको उक्त टोलीले भूकम्पले क्षति गरेका घरहरुको व्यवस्थापन र अस्थायी आवास निर्माणको काम सुरु गरेको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीको टोलीले सानीभेरी गाउँपालिका –२ को सागिनेगाउँ र आठबीसकोट नगरपालिका –१३ को जिउँलामा काम सुरु गरेको हो ।

अस्थायी आवास निर्माणमा दक्ष जनशक्तिको अभाव भएपछि मङ्सिर १३ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट नेपाल सरकार समक्ष सुरक्षाकर्मी परिचालनको माग गर्ने निर्णय भएको थियो । सोहि दिन बसेको मन्त्रीपरिषद्को बैठकको भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय समेत गरेको थियो ।

प्रजिअ पन्तले सुरक्षाकर्मी टोलीले अस्थायी आवास निर्माणको कामलाई पहिलो प्राथमिकता दिएर काम सुरु गरेको जानकारी दिनुभयो । आवास निर्माणका लागि स्थान र आवश्यक सामाग्री अभाव भएको खण्डमा भत्किएको संरचना व्यवस्थापन गरेर आवास निर्माण गरिनेछ । सुरक्षाकर्मीको टोलीले स्थानीय तहसँग आवश्यक समन्वय गरेर काम सुरु गरेको हो ।

रुकुम पश्चिममा ३० हजार बढी घरमा भूकम्पले क्षति पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार