भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउँदै रेडक्रस

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउँदै रेडक्रस

मुसिकोट । नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिममा अस्थायी आवास निर्माण सुरु गरेको छ । शाखाले जिल्लामा दुई सय ५० वटा अस्थायी आवास निर्माणको काम सुरु गरेको छ ।

भूकम्प प्रभावित परिवारलाई तत्कालीन परिपूरणका लागि सहयोग गर्नेसमेत जनाइएको छ । शाखाका सभापति रमा गौतमका अनुसार अहिले जिल्लाका दुई वटा स्थानीय तहमा अस्थायी आवास निर्माणको काम सुरु गरिएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका–४ र त्रिवेणी गाउँपालिका–९ र १० मा दुई सय ५० वटा अस्थायी आवास निर्माणको काम जारी रहेको सभापति गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरीमा १५०, त्रिवेणीका दुई वडामा ५०/५० वटा अस्थायी आवास निर्माण हुने छन् । यी आवास सरकारले निर्माण गरेको कार्यविधि अनुसार नै निर्माण हुने छन् । सभापति गौतमले अहिले लाभग्राहीसँग सम्झौता भई निर्माणको काम भइरहेको बताउनुभयो ।

स्थानीय तहसँगको छलफलबाट लाभग्राही छनोट गरिएको हो । रेडक्रस मार्फत अस्थायी आवास निर्माण भएका प्रभावितले सरकारले दिने अस्थायी आवासको रकम भने पाउने छैनन् ।

त्यस्तै रेडक्रसले अस्थायी आवासका साथै तत्कालीन परिपूरणका लागि समेत सहयोग गर्ने भएको छ । अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपियाँ, अस्थायी शौचालयका लागि १५ हजार, खानेपानीका लागि सात हजार र बहुउद्देश्यीय प्रयोजनका लागि नगद १५ हजार रुपियाँ सहयोग गर्ने छ । सबै सहयोग जोड्दा दुई सय ५० परिवारलाई प्रतिघरपरिवार ८७ हजार रुपियाँ दिने कोषाध्यक्ष यज्ञ बहादुर केसीले जानकारी दिनुभयो ।

रेडक्रसले अस्थायी आवासका लागि छनोट भएका लाभग्राहीसहित सानीभेरी र त्रिवेणीमा गरी एक हजार चार सय २७ परिवारलाई तत्कालीन परिपूरणका लागि बहुउद्देश्यीय नगद रकम १५ हजारका दरले उपलब्ध गराउने जनाएको छ । सुत्केरी, गर्भवती, अभिभावक गुमाएका बालबालिका र ज्येष्ठ नागरिकलाई तत्कालीन व्यवस्थापनका लागि नगद सहयोग गर्न लागिएको कोषाध्यक्ष केसीले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार