मुसिकोट। रुकुम पश्चिमको चौरजहारीमा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गरिएको छ। शनिबार जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको संयोजन तथा मानव विकास तथा सामुदायिक सेवाको आर्थिक सहयोगमा चौरजहारी अस्पतालमा विपद् प्रतिकार्य नमुना अभ्यास गरिएको हो ।
विपद् जोखिम न्यूनिकरणका लागि नेपाली सेना, जनपद प्रहरी, शसस्त्र प्रहरी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक संघ लगायतको सहभागितामा आगलागी तथा सडक दुर्घटना उद्दार सम्बन्धी सामूहिक कृत्रिम प्रतिकार्य अभ्यास गरिएको जनाएको छ ।
बढ्दो सवारी दुर्घटना तथा गर्मीयामको सुरुवातसँगै आगलागी जन्य विपद्का घटना बढ्न सक्ने भन्दै विपद् न्यूनीकरण अभ्यास तथा उद्धारका साथै प्राथमिक उपचारमा के–कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारी तथा गैरसरकारी संस्थाहरुसँग मिलेर नमुना अभ्यास सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
त्यस्तै चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले विपद्का घटना आइपरेको खण्डमा प्रारम्भिक चरणमा गरिने खोज, उद्धार र प्रभावितलाई पुर्याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरी, चौरजहारी नगरपालिका उप-प्रमुख ईश्वरी शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, मानव विकास तथा सामुदायिक सेवाका वरिष्ठ व्यवस्थापक टंक सुवेदी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, रेडक्रस, विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
त्यस्तै नमुना अभ्यासमा सहभागि सुरक्षाकर्मी, प्रशिक्षार्थी एवम् समन्वयकारी भूमिका निर्वाह गर्ने सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
तस्बिरहरू :












