राप्ती राजमार्ग अन्तर्गत पितिवाङखोला सडक खण्ड सुचारु

राप्ती राजमार्ग अन्तर्गत पितिवाङखोला सडक खण्ड सुचारु

मुसिकोट । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ स्थित पितिबाङ खोला सडक खण्ड सुचारु भएको छ ।

शनिबार दिउँसो परेको पानीको कारण खोलामा लगाईएका ह्युम पाइप बगाएको थियो । आज दिनभरको प्रयास पछि सडक सुचारु भएको डिभिजन सडक कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

तत्कालका लागि सवारी साधनलाई आवतजावतमा सहज बनाउन खोलाको नजिकैबाट नयाँ ट्रर्याक खोलेर सडक सूचारु गरिएको छ । भोलि पुनः ह्युमपाइप राखेर सडक मर्मत गरिने छ ।

सडक सुचारु भएसंगै रुकुम पूर्वको रुकुमकोट, रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटबाट राप्ती राजमार्ग हुँदै सल्यान, दाङ, नेपालगञ्ज र काठमाडौँ जाने सवारी साधनहरु सुचारु भएका छन् । यसका साथै स्थानीयस्तरमा सञ्चालन हुने सवारी साधनहरु समेत चल्न थालेका छन् ।

यस खोलामा पुल निर्माणको काम सुरु भएतापनि अहिले अलपत्र अवस्थामा रहेको छ । २०७८ बैशाख ७ गतेसम्म पुल निर्माण गर्नेगरी संरक्षण निर्माण सेवा प्रालि र डिभिजन सडक कार्यालय चौरजहारी बिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो ।

मूल्य अभिवृद्ध कर बाहेक चार करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल ४ वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ । पुल नबन्दा पैदल यात्रुहरु, यात्रुवाहक सवारी साधनहरु, उद्योगी व्यवसायीका मालवाहक गाडीहरु, बिरामी बोकेका एम्बुलेन्सहरुले सास्ती पाइरहेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार