आठबिसकोट जाने सडक अवरुद्ध, सुरक्षा प्रमुखको टोली बाटोमै रोकियो

आठबिसकोट जाने सडक अवरुद्ध, सुरक्षा प्रमुखको टोली बाटोमै रोकियो

मुसिकोट । रुकुम पश्चिमको जिल्ला सदरमुकाम देखि आठविसकोट जाने सडक अवरुद्ध भएको छ । सोमबार रातीको बर्षासँगै विभिन्न स्थानमा आएको पहिरोको कारण बाटो अवरुद्ध भएको हो ।

बाटो अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको नेतृत्वमा आठविसकोटतर्फ जाँदै सुरक्षा प्रमुखहरुको टोली बाटोमै रोकिएको छ । गएराती आठविसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीको कारण घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाईते भएका छन् ।

सोहि स्थानतर्फ खोज, उद्धार र उपचारको लागि जाँदै गरेको सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीको टोली सडक अवरुद्ध हुँदा रोकिएको हो ।

उक्त टोलीमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, चण्डी दल गणका गणपति शरद थापा, प्रहरी नायब उपरिक्षक नवराज पोखरेल, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवी बुढा मगर, नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका सभापति रमा गौतम, पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी लगायतको टोली रहेको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार सानीभेरी गाउँपालिका वडा नम्वर ४ को सर्पचौर, आठविसकोट नगरपालिका १४ को भल्माखोला, चौर लगायतका स्थानमा आएको पहिरोको कारण बाटो अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध भएपछि आठविसकोटतर्फ जाने यातायातका साधनहरु रोकिएका छन् । बाँफिकोटको नदुवा देखि तल्लो क्षेत्रमा गएको पहिरोको कारण आठविसकोटतर्फ जाने उक्त सडक पनि अवरुद्ध नै रहेको छ ।

प्रजिअ पन्तले अवरुद्ध सडक हटाउने कार्य भईरहेको बताउनुभयो । सानीभेरी गाउँपालिका, निर्माण व्यवसयी लगायतका डोजर लगाएर पहिरो पन्छाउने काम भईरहेको उहाँले जनाउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार