बाढी पहिरोले रुकुम पश्चिममा २६३ परिवार विस्थापित

बाढी पहिरोले रुकुम पश्चिममा २६३ परिवार विस्थापित

मुसिकोट । वर्षाका क्रममा आएको बाढी-पहिरोबाट रुकुम पश्चिममा चार जनाको मृत्यु भएको छ भने २६३ घरपरिवार बिस्थापित भएका छन् ।

शुक्रबार जिल्ला प्रशासनका कार्यालयले रुकुुम पश्चिमले सार्वजनिक गरेको विपद् बुलेटिनका अनुसार विपद्का कारण आठबिसकोट नगरपालिका वडा नम्वर १२ मा एक पुरुष र तीन जना महिलाको मृत्यु भएको छ ।

बाढी पहिरोको कारण आठविसकोट नगरपालिका, मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका २६३ घरधुरी विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठबिसकोट नगरपालिका वडा नम्वर ९, १०,११, १२, १३ र १४ का २५० घरधुरी, बाँफिकोट गाउँपालिका वडा नम्वर ९ का ४ घर, सानीभेरी गाउँपालिकाका वडा नम्वर ७ र ८ का ९ घरपरिवार बाढी पहिरोको उच्च जोखिमका कारण बिस्थापित भएका छन् ।

आठबिसकोटका केहि बिस्थापित परिवारहरुलाई वडा नम्वर ११ र १२ को कर्णाली वेभरेज, काष्ठ उद्योग र बृद्धाश्रममा राखिएको छ भने अन्य बिस्थापितहरु आफन्तको आश्रयमा बसेको सहायक प्रजिअ रेग्मीले जानकारी दिनुभयो । सानीभेरीका आठ बिस्थापित परिवारलाई स्थानीय बालकल्याण आधारभूत विद्यालयको भवनमा राखिएको छ ।

विपदजन्य घटनामा परेर आठविसकोटमा एक वटा भैसी र सानीभेरीमा तीन वटा बाख्रा मरेका छन् । त्यसैगरी जिल्लाभर १५ वटा घर पूर्ण क्षति, तीन वटा आंशिक क्षति भएका छन् भने १२ वटा उद्योग र एक विद्यालयमा पहिरोको कारण पूर्ण रुपमा क्षतिग्रष्त भएका छन् ।

यस्तै बाढी पहिरोबाट जिल्लामा २ हजार ६ सय ९० घरपरिवार जोखिममा रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार