सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आइतबार कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा आफ्नो पार्टीको ११ सांसदको समर्थन कांग्रेस संसदीय दलका नेता शाहलाई रहेको बताएका थिए ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को उपधारा २ अनुसार कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको जनाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार