आफू मरेर यात्रु जोगाएका चालकलाई सरकारले सम्मान गर्ने

आफू मरेर यात्रु जोगाएका चालकलाई सरकारले सम्मान गर्ने

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ ।

गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको हो ।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । ‘कस्तो सम्मान, कति राहत भन्ने कुरा पछि खुल्ला तर आफू मरेर बसका यात्रुलाई जोगाएकाले चालकलाई मरणोपरान्त सम्मान गर्ने निर्णय भएको छ,’ भट्टराईले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अर्का एक अधिकारीका अनुसार ती चालकलाई विभूषणसहित सम्मान गर्ने प्रस्ताव कार्यकारी समितिमा पेस भएको थियो ।

बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बसमा करिब ३० जना यात्रु थिए । उनीहरू सबै जोगिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार