प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा प्रहरी कर्मचारीलाई तत्काल अवकासमा नपठाउन अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार हरिप्रसाद फुयालको इजलासले नेपाल प्रहरीका २१ जना कर्मचारीसहित ३० वर्षे सेवा अवधिबाट अवकासमा नपठाउन अन्तरिम आदेश जारी गरेको हो।

‘अतः निवेदकहरू तथा निवेदक जस्तै अवस्थामा रहेका प्रहरी कर्मचारीहरुलाई मिति २०८१।५।१६ वा उक्त प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिको ३० वर्षे अवधीको आधारमा सेवाबाट अवकास हुने भनि दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू नगराउनू र त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्न नगराउनू भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।

निजहरुको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू नगराउनू र प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउनु भनी विपक्षीहरुलाई लेखी पठाउनु,’ सर्वोच्चको आदेशमा भनिएको छ।

सर्वोच्च अदालतले विपक्षीहरूबाट १५ दिनभित्र जवाफ समेत माग गरेको छ।

त्यसैगरी लिखित जवाफ पेश भए वा नभएमा असोज १० गतेका लागि पूर्ण इजलासमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ।

३० वर्षे सेवा अवधिका कारण आफूहरू अन्यायमा परेको भन्दै नेपाल प्रहरीका एसएसपीसहित २१ जना प्रहरी कर्मचारीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यही भदौ १६ गतेदेखि डिआइजी विष्णुकुमार केसीसहित ९० जना प्रहरी अधिकृत अवकाशमा जाँदै थिए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार