बृहत् नेपाली शब्दकोषका अनुसार आत्महत्या भन्नाले आफूले आफैँलाई मार्ने काम, जानी-जानी आफैँले आफ्नो हत्या गर्ने काम, आत्मघात भन्ने बुझिन्छ।
कोभिड महामारीका बेला लगभग हरेक मान्छेले धेरथोर मात्रामा मानसिक समस्या भोगे। धेरै संख्यामा हरेक उमेरका व्यक्तिहरु एन्जाइटी, डिप्रेसन र ओसिडी जस्ता तनाव सम्बन्धी समस्याका शिकार भए। धेरै आत्महत्याका घटना पनि कोभिड महामारी शुरु भएपछि भएको देखिन्छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारभर हरेक वर्ष सात लाख भन्दा बढी मानिसले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन्। आत्महत्याको असफल कोशिस गर्नेको संख्या यो भन्दा पनि बढी छ। यस हिसाबले विश्वमा दैनिक औसत १,९७३ जनाले आत्महत्याबाट मृत्युवरण गर्छन् भने नेपालमा पनि हरेक दिन औसत १९ जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीसँग तथ्यांक छ।
नेपाल प्रहरीको तथ्यांक अनुसार गतवर्ष (२०७९–८०) नेपाल भरि ६,९७४ आत्महत्याका घटना प्रहरीमा दर्ता भएका थिए। कतिपय घटना विभिन्न कारणले दर्ता नै नगरि गुपचुप राखिएका वा दबाइएका हुन्छन्। पछिल्लो दस वर्षको नेपाल प्रहरीको तथ्यांक अनुसार २०७०-७१ मा ५,१०७ जना, २०७१-७२ मा ४,३५० जना, २०७२-७३ मा ४,७०५ जना, २०७३-७४मा ५,१३१ जना, २०७४-७५ मा ५,३४६ जना, २०७५-७६ मा ५,७५४ जना, २०७६-७७ मा ६,२४१ जना, २०७७-७८ मा सबैभन्दा बढी ७,११७ जना, २०७८-७९ मा ६,७९२ जना र २०७९-८० मा ६,९७४ जनाले नेपालमा आत्महत्याबाट ज्यान गुमाएका छन्।
‘सधैँका लागि दुखिरहने घाउ’
आत्महत्या अत्यन्तै नराम्रो सामाजिक घटना हो जसले मृतकका परिवार, आफन्त, साथीभाइ र छरछिमेक सबैलाई सधैँका लागि दुखिरहने घाउ दिएर जान्छ।
आत्महत्याबाट मृत्यु हुने व्यक्तिहरु प्रायः कुनै न कुनै मानसिक समस्याहरुबाट पीडित रहेको पाइएको छ। डिप्रेसन, बाइपोलार र बोर्डरलाइन पर्सनालिटी डिसअर्डर, साइकोसिस, लागु पदार्थको कुलत जस्ता मानसिक समस्याबाट पीडित रहेका व्यक्तिहरुले आत्महत्या गर्न सक्ने बढी सम्भावना रहेको हुन्छ। त्यसैले
समाजमा मानसिक स्वास्थ्यको महत्वबारे चेतना फैलाउनु, मानसिक स्वास्थ्यबारे टोलटोलमा, घरघरमा, विद्यालय, महाविद्यालय, संघसंस्था, कार्यालय, जताततै चर्चा चलाउनु र सचेतना लगायतका कार्यक्रमहरु गर्नु नै आत्महत्या रोकथामको पनि उपाय हुनसक्छ।
जो व्यक्ति मानसिक रुपमा स्वस्थ र बलियो हुन्छ, उसको जीवनमा जस्तोसुकै कठिन परिस्थिति आइपरेपनि, जतिसुकै नराम्रो घटना घटेपनि उसले शान्त भएर त्यसको सामना गर्न सक्छ। बिस्तारै आफूलाई सम्हाल्न सक्छ, आफ्नो र आफ्नो परिवारको जीवनलाई सम्हाल्न सक्छ। यसरी कठिन संघर्षबाट गुज्रिएर पनि जीवनलाई उज्यालोतिर लगिरहेका साहसी व्यक्तित्वहरुका उदाहरण हाम्रै समाजमा प्रशस्त छन्।
हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै जानुको प्रमुख कारणहरुमा एक्लोपन, मोबाइल इन्टरनेटको अत्यधिक र अनियन्त्रित प्रयोग, स्वास्थ्यप्रतिको लापरवाही, पैसा र भौतिक सुखसुविधालाई नै सबैथोक मानेर त्यसकै पछाडि सम्पूर्ण समय खर्चिनु, आफ्नो शारीरिक र मानसिक स्वास्थ्यप्रति बेवास्ता गर्नु, परिवारमा भावनात्मक सम्बन्ध, माया र आफ्नोपनको अभाव हुँदै जानु आदिलाई मान्न सकिन्छ।
संसारभरि कता के भइरहेछ, सबैलाई तुरुन्तै थाहा हुन्छ। तर आफ्नै परिवारका सदस्यको जीवनमा के भइरहेको छ, उसको मनस्थिति कस्तो छ, भावनात्मक स्थिति कस्तो छ, उसले कस्तो महसुस गरिरहेको छ, खुशी छ कि दुःखी छ कि चिन्तित छ कि ? भन्ने कुरामा चासो दिने समय हुँदैन। एकअर्कासँग मनका कुरा साट्ने, दुःखसुख बाँड्ने, भलाकुसारी गर्ने चलन हराउँदै गइसक्यो। एक्लै हुँदा मात्र होइन, समूहमा भेला भएका बेला समेत सबैजना आआफ्नो स्मार्टफोनमा आफ्नै संसारमा हराइरहेका देख्न सकिन्छ।
अहिले बालकदेखि किशोरकिशोरी र युवादेखि अधबैँसे सबैलाई पढाइमा, काममा, सफल हुने, धेरै भन्दा धेरै पैसा कमाउने दबाव छ। सम्बन्धहरुमा पहिलेजस्तो माधुर्य छैन, गहिराइ छैन। प्रेम र विवाहका सम्बन्धहरु छिटै गाँसिन्छन् र छिटै तोडिन्छन् पनि। मानिसहरुमा धैर्य छैन, सहनशीलता छैन, क्षमा माग्न र क्षमा दिन सक्ने क्षमता छैन।
हाम्रो समाजमा घटेका आत्महत्या वा आत्महत्याको प्रयासका कारणहरुलाई केलाएर हेर्ने हो भने प्रेमसम्बन्ध वा वैवाहिक सम्बन्धमा विश्वासघात, अत्यन्त प्रियजनको अकस्मात मृत्यु, व्यापार व्यवसायमा अनपेक्षित घाटा, चर्को ब्याजको ऋण, कुनै अकल्पनीय दुर्घटना, अंगभंग हुनु, काममा वा पढाइमा नसोचेको असफलता, कसैबाट नराम्ररी अपमानित भएको महसुस हुनु, आफैँबाट कुनै ठूलै गल्ती भएको महसुस हुनु, आफ्ना प्रियजनबाट अपहेलित भएको महसुस हुनु अथवा यस्तै अन्य कारण देखिन्छन्। यस्तो बेलामा जब मानिसले कतै आशाको किरण देख्दैन, जताततै अन्धकार भविष्य देख्छ, आवेशमा आत्महत्याको निर्णय लिन पुगेको हुनसक्छ।
हाम्रो समाजमा आत्महत्याको विषयमा खासै कुराकानी हुँदैनन्। आत्महत्याका समाचार आएपछि सञ्चारमाध्यमले समाचार पस्किन्छन्। केही समय त्यसको चर्चा परिचर्चा हुन्छ, तर बिस्तारै त्यो सेलाउँदै जान्छ। हुनुपर्ने बहस हुँदैनन् र समाधानका उपाय निस्कँदैनन्।
आत्महत्याको संकेत
प्राय: आत्महत्या वा त्यसको प्रयास गर्नुअघि पीडितले आफ्ना नजिकका साथीभाइ, आफन्त वा सहकर्मीहरुलाई केही न केही संकेत दिएको हुन्छ। उसले पनि सकेसम्म आत्महत्या नगर्नका लागि मदत मागिरहेको हुन्छ। तर धेरैजसो अवस्थामा उनीहरुले बुझ्न सक्दैनन् भने कतिपय अवस्थामा बुझेर पनि नपत्याएको पनि हुनसक्छ। त्यसैले आफ्ना वरिपरि कसैले मर्ने कुरा गरिरहेको छ, जीवनदेखि निराशाका कुराहरु गरिरहेको छ, म मरेँभने तिमी के गर्छौ अथवा म मरेँभने यसो गर्नू जस्ता कुरा गरिरहेको छ भने उसका कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ। उसलाई माया र आफ्नोपन दिनुपर्छ र सक्दो भावनात्मक सहयोग र सहारा दिनुपर्छ।
यदि तपाईँका कोही नजिकका व्यक्ति वा तपाईँमध्ये कोही आफैँ पनि पीडामा हुनुहुन्छ, मानसिक तनाव, निराशा, दिक्दारी, मानसिक छटपटी, अत्यास, मनमा बारम्बार केही नकारात्मक विचारहरु आइरहने, बाँच्न मन नलाग्ने, आदिजस्ता समस्याले ग्रस्त हुनुहुन्छ भने मनोचिकित्सक (साइकियाट्रिस्ट), मनोवैज्ञानिक (साइकोलोजिस्ट) अथवा मनोवैज्ञानिक परामर्शदाता (साइकोलोजिकल काउन्सिलर) लाई भेटेर समस्याको समाधान खोज्न सक्नुहुन्छ। उनीहरुले तपाईंका व्यक्तिगत जानकारीहरु गोप्य राख्छन्, तपाईँको जीवनका हरेक समस्याहरुलाई ध्यान दिएर सुन्छन्, बुझछन्, विश्लेषण गर्छन् र तपाईँको व्यक्तित्व र समस्या अनुरुपको समाधानतिर लैजान सहयोग गर्छन्। शुरुमा सामान्य तनाव जस्तो लाग्ने समस्या नै पछि बढेर गम्भीर समस्या बन्न सक्छ।
आत्महत्या र त्यसका कारणबारे टोलटोलमा, घरघरमा, विद्यालय र सार्वजनिक भेलाहरुमा स्वस्थ बहस हुनु जरुरी छ। बालबालिका र किशोरकिशोरी लगायत सम्पूर्णलाई मानसिक स्वास्थ्यका बारेमा बुझाउनु जरुरी छ। आत्महत्याका कारण र रोकथाम बारे बताउनु जरुरी छ।
आत्महत्या रोकथामका लागि सहयोग गर्न नेपाल सरकारका तर्फबाट निःशुल्क हेल्पलाइन पनि संचालनमा छ। आत्महत्याबारे ११६६ मा फोन गरेर कुरा गर्न सकिन्छ। त्यस्तैगरी आफ्ना कोही साथीभाइ वा आफन्तले आत्महत्याको विचार गरेको शंका लागेमा सिधै १०० नम्बरमा फोन गरी प्रहरीलाई खबर गर्न पनि सकिन्छ। यसबाहेक टिचिङ अस्पताल, पाटन अस्पताल लगायत विभिन्न मानसिक स्वास्थ्य सम्बन्धि संस्थाहरुले पनि यस्ता हेल्पलाइन संचालन गर्दै आइरहेका छन्।
(लेखक काठमाडौँस्थित मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने संस्था, ह्याप्पी माइन्ड्मा आबद्ध साइकोलोजिकल काउन्सलर हुन्।)