छतमा यात्रु बोक्नेलाई २० हजार जरिवाना!

छतमा यात्रु बोक्नेलाई २० हजार जरिवाना!

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले सर्वसाधारणलाई जोखिमपूर्ण तरिकाले यात्रा गर्न बाध्य पार्ने सवारीसाधनलाई कारबाही गरेको छ।

यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीमा कडाइ गरेको हो।

खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जीपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जीपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरिवाना गराइएको छ। पटक/पटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढङ्गबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जीप कारबाहीमा परेका हुन्।

अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोकेको फेला पारेपछि र सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाएको भेटिएपछि यात्रु ओरालेर गाडी नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको मैदीतर्फ जाँदै गरेको दुई जीपलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ। क्षमताभन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३–०१–०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिई जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिए।

चालकसहित पाँच जना चढ्न मिल्ने सिट भएको जिपमा २० जनाभन्दा बढी यात्रु चढाएको भेटिएपछि ती जीपलाई नियन्त्रणमा लिएर कारबाही गरेको उनले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार