मुसिकोट । रुकुम पश्चिममा दसैं टीकाको दिन पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १ का ३७ वर्षीय बुद्धिराम बोहराले टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम्फालेका थिए ।
मठ र सल्ले जोड्ने झोलुङगे पुलको माथिबाट झन्डै ६ सय मिटर मुनि हाम फालेका बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले बताए।
श्रीमतीले सम्बन्ध विच्छेद (डिभोर्स) मागेको हुँदा बुद्धिरामले पुलबाट हाम फालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको डिएसपी पोख्रेलले बताए।
‘घरायसी समस्या देखिन्छ। श्रीमतीले डिभोर्स मागेको हुँदा मरिदिन्छु भन्दै हाम फालको भन्ने खुलेको छ। विस्तृतमा हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने।
एक युवकले पुलबाट हाम फालेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक नेतृत्वको ११ सदस्य टोली घटनास्थल पुगेको थियो।
बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।


 
					
							 
                             
                             
                             
                             
                            