सानीभेरीका सात सय घरधुरीमा बिजुली पुग्यो

सानीभेरीका सात सय घरधुरीमा बिजुली पुग्यो

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका दुई वटा वडामा बिजुली पुगेको छ । गाउँपालिकाको नम्वर ७ र ९ का सात सय घरधुरीमा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय लाईन जडान गरिएको हो ।

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख ई.बिरमान रास्कोटीका अनुसार वडा नम्वर ७ का चार सय र वडा नम्वर ९ का तीन सय घरधुरीमा केन्द्रिय लाईन बिस्तार गरिएको हो । वडा नम्वर ७ का ३१ टोल र ९ का १३ वटा टोलमा केन्द्रिय लाईनको बिजुली बल्न सुरु गरेको छ ।

वितरण केन्द्र प्रमुख रास्कोटीले वडा नम्वर ७ मा १६० र ९ मा एक सय वटा मिटर वितरण गरिएको बताउनुभयो । मिटर अभावको कारण २६० वटा मिटर मात्र उपलब्ध गराउन सकिएको हो । उहाँका अनुसार हाललाई ग्राहकहरुले साझेदारी गरेर वितरण गरिएका मिटर मार्फत आआफ्नो घरमा लाईन जोड्नु भएको छ ।

यसअघि वडा नम्वर ७ मा रोलखोला लघु जलविद्युत आयोजना मार्फत ३३ किलोवाट विद्युत उत्पादन गरेर यहाँका चार सय घरधुरीमा विद्युत सेवा वितरण गरिएको थियो । उक्त विद्युत बेलाबेला बिग्रने, पूर्ण क्षमताको र नियमित नहुनेभएपछि केन्द्रिय लाईन जडानको माग बढेको थियो ।

त्यसैगरी वडा नम्वर ९ मा यस अघि सिम्ली खोला लघु जलविद्युत आयोजना मार्फत २९ किलोवाट विद्युत उत्पादन भएर यहाँका तीन सय घरधुरीमा विद्युत जडान गरिएको थियो । पटक पटक बिग्रदै आएको यो आयोजनाको विद्युत सेवा गत बैशाखदेखि अवरोध रहेको थियो ।

स्थानीय लघु जलबिद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत नियमित नहुँदा यहाँका सर्वसाधारणहरुले सहज बिद्युत सेवा उपयोग गर्न पाएका थिएनन् । गत साउन २८ गते रुकुम पश्चिम वितरण केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालेपछि स्थानीयको माग र आवश्यकता पहिचान गरेर आफूले सात सय घरधुरीमा विद्युत लाईन बिस्तार गर्न सफल भएको वितरण केन्द्र प्रमुख रास्कोटीले बताउनुभयो ।

अहिले वडा नम्वर ७ को फुक्रुजीउला र सहरेगाउँमा २५/२५ केभी क्षमताको ट्रान्सफर राखिएको छ । त्यसैगरी वडा नम्वर ९ को टनेलचौरमा ५० केभी र सुलीहालेमा २५ केभी क्षमताको नयाँ ट्रान्सफर राखिएको छ भने हासिबाङमा रहेको ट्रान्सफरलाई बिस्तार गरेर ५० केभी क्षमता बनाई सञ्चालन गरिएको छ ।

घरघरमा केन्द्रिय लाईन जडान भएर झिलिमिलि भएपछि स्थानीयवासीहरु खुशी भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार