काठमाडौँ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानुनलाई सघाउने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू कानुनलाई सघाउन तयार रहेको प्रतिबद्धता जनाएका हुन्।
उनले लेखेका छन्, ‘ठीक छ, म तपाईहरुको दिनगन्ती सुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु।’
सहकारी ठगीमा संसदीय छानबिन समितिबाट दोषी ठहर भएका उनले आफूले कसैलाई नठगेको भन्दै पार्टीका नेता कार्यकर्तालाई शीर ठाडो राख्न आग्रह गरेका छन्।
साथै अहिलेलाई सरकार मरेको उनले टिप्पणी गरेका छन्। न्यायालयमाथि आफूलाई भरोसा रहेकोसमेत उनको भनाइ छ।
‘अहिलेलाई सरकार मर्यो, हामीलाई जुठो पर्यो। तर, मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला। तपाईको सभापतिले कसैलाई ठगेको छैन,’ उनको भनाइ छ।
यस्तै, उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचनासमेत गरेका छन्।
