दमौली (तनहुँ) । भाइटिकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकका दिदी बहिनीसँग भाइटीका थाप्छन् ।
तर यहाँको व्यास नगरपालिका-१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एक अर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन् । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताए ।
मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । सुरुका वर्ष उनीहरू आफैँलाई असहज महसुस भयो । दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौँ’ भन्नेहरू भेटिए । तर, उनीहरूले सुरु गरेको भाइटिकालाई निरन्तरता दिन छाड्नुभएन ।
दिदीबहिनी नभए पनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ । “दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौँ,” उनले भने । रासस