काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सहकारीको रकम अपलचन सम्बन्धी कागजी बयान लिएको छ ।
गुरुङलाई आज सीआईबीमा बोलाएर प्रहरीले मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी कागज गराएको हो ।
करिब ११ बजे सीआइबी पुग्नु भएका गुरुङसँग प्रहरीले उहाँकी पूर्वश्रीमती ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण र उहाँले भुक्तान गरेको भनिएको ९२ लाख रुपैयाँका बारेमा सोधपुछ गरेको छ । धनराजले मितेरी सहकारीमा तिरेको भनिएको ऋणका बारे प्रष्टीकरण दिनुभएको छ ।
२०५७ सालदेखि मितेरी सहकारीको कर्मचारी रहनुभएकी गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङ २०७५ सालमा कार्यकारी प्रमुख हुनुभएको थियो । ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको छ भने पछि ८४ लाख थप भएको हो ।
ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिनु भएको थियो । स्रोतका अनुसार धनराज र ज्योतिबीच सम्बन्ध विच्छदे हुँदा ज्योतिले सम्पत्ति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमती भएको थियो ।
धनराजले आफू सहकारीका जोडिनु र श्रीमतीसँग भएको सम्बन्ध विच्छेद बारेसमेत बयान दिनुभएको छ ।
गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारी विरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भइसकेको छ ।
मितेरी सहकारीका सञ्चालक समितिले दिएको उजुरीका आधारमा धनराजमाथि छानबिन सुरु भएको हो ।