काठमाडौँ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन तालिका अनुसार आज उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय दिइएको थियो ।
उक्त समयमा नेपाली काँग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार रोकाले उम्मेदवारी फिर्ता लिएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिनुभयो ।
गठबन्धनका उम्मेदवार रोकाले घर्तीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको उहाँको भनाई छ । अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका घर्ती निर्विरोध हुनुभएको हो ।
तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ । उम्मेदवारी फिर्ताका लागि दिउँसो ३ बजेसम्मको समय भएकोले त्यसपछि मात्र औपचारिक जानकारी सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी माओवादी केन्द्रकी भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष माओवादी केन्द्र जसबहादुर शिर्पालीको बागलुङमा भएको दुर्घटनामा निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।