काठमाडौं । प्राकृतिक विपद्ले पूर्ण क्षति पुर्याएका विद्यालयको पुनःनिर्माणको जिम्मा संघीय सरकारले लिने भएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले देशका विभिन्न क्षेत्रका विद्यालयमा क्षति पुर्याएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार विपद्का कारण विद्यालयमा पुगेको क्षतिको सन्दर्भमा सरकारले अध्ययन गरिरहेको छ । प्रकृतिक विपद्ले पूर्ण क्षति पुर्याएका विद्यालयको पुननिर्माणको जिम्मा संघीय सरकारले लिने तय भएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले विपद्मा धेरै विद्यालयमा क्षति भएको बताएकी थिइन् । सरकारको यो विषयमा के गरिरहेको छ ? भन्ने उनको प्रश्न थियो । जवाफमा मन्त्री भट्टराईले तीन तहको समन्वयमा काम गर्ने तय भएको बताइन् ।
‘पूर्ण क्षति भएका विद्यालयहरूको जिम्मा संघ सरकारले लिनेछ । अरु क्षेतिको सन्दर्भमा प्रदेश र स्थानीय सरकारमार्फत अहिले भएको बजेटबाट कति सक्नुहुन्छ गर्नुहोस् भनिएको छ,’ मन्त्री भट्टराईले भनिन् ।
मन्त्रालयका लागि नियमित रुपमा आउने बजेट र त्यसअन्तर्गत यसवर्ष काम नगरे पनि हुने कतिपय बजेटलाई विपद्मा परिचालन गर्ने गरी अर्थ मन्त्रालयबाट स्वीकृति लिएर अगाडि बढ्ने तयारीमा मन्त्रालय रहेको पनि उनले जानकारी दिइन् ।
प्राकृतिक विपद्मा परेर विद्यार्थीहरू समेतको मृत्यु भएपछि सरकारले त्यसबेलै तीन दिन विद्यालयमा बिदा दिएर शोक मनाएको उनले स्मरण गरिन् । बिदा दिने कुराले केही नहुने भएता पनि त्यसबेला सरकारसँग अर्को विकल्प नरहेको बताइन् ।
विपद्पछि विद्यालयमा पुगेको क्षतिको आंकलन गरेर तीन तहका बीचमा समन्वयमा काम गर्ने तय भएको जानकारी दिइन । विपद्ग्रस्त जिल्लामा रहेका विद्यालयहरू पूर्ण रुपमा क्षति नभएता पनि पढाउन सक्ने अवस्था नरहेको उनले बताइन् ।
बागमती प्रदेशको मात्रै रिर्पोट लिँदा त्यसबेला ४५५ भन्दा बढी विद्यालयहरू क्षतिग्रस्त भएको विवरण प्राप्त गरेको मन्त्री भट्टराईले जानकारी दिइन् ।
क्षतिको विवरण लिएपछि संघीय सरकारका सम्बन्धित मन्त्रालयहरू, प्रदेशका मन्त्रालयहरू, क्षतिग्रस्त स्थानीय तहका प्रतिनिधिहरूसँग भर्चुअल छलफल गरेको उनले बताए । उक्त भर्चुअल छलफलमा स्थानीय तहका प्रतिनिधिहरूले क्षतिको सबै विवरण संघीय सरकारलाइ पठाउने बताएको उल्लेख गर्दै उनले त्यस आधारमा संघीय सरकारले आवश्यक निर्णय लिएको बताइन् ।
त्यसभन्दा अगाडि मन्त्रालयले विपद्को सम्बोधन गर्नका लागि क्षतिग्रस्त पालिकाहरूलाई ४ देखि ६ लाख रुपैयाँ पठाएको उनले बताइन् । त्यसका अतिरिक्त दुई करोड प्रदेशमार्फत् विपद्को सम्बोधन गर्नका लागि पठाइएको मन्त्री भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार संघीय सरकारले प्रदेश सरकारलाई विपद्का कारण भएको क्षतिको सर्भे गरेर संघीय मन्त्रालयमा प्रतिवेदन पठाउन भनिएको छ । कस्तो खालको अवस्था छ त्यस आधारमा संघीय सरकारले थप नीति लिइने र आवश्यक बजेट विनियोजन गर्ने भनिएको पन उनले बताइन् ।
साथै विपद्का कारण पूर्ण क्षति भएका विद्यालयको जिम्मा संघीय सरकारले लिने पनि भनिएको उनले जानकारी दिइन् ।