मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मोतिराम खत्रीले शपथ ग्रहण गर्नुभएको छ ।
शुक्रबार सानीभेरी गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित वडा अध्यक्ष खत्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । उहाँलाई गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
शपथ कार्यक्रममा उपाध्यक्ष कमला रोका पुन, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
खत्रीले नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतलाई पराजित गर्नुभएको थियो । खत्रीले ५ सय ९० मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका बस्नेतले ५ सय ३७ मत प्राप्त गर्नुभएको थियो ।



