मुसिकोट । वैवाहिक कार्यक्रम तथा विवाह बर्षगाँठ भन्दै भड्किलो खर्च गर्ने, भोजभतेर गर्ने चलन बढ्दै गएको बेला रुकुम पश्चिममा एक दम्पतिले उदाहरणीय कार्य गर्नुभएको छ ।
जिल्लाको त्रिबेणी गाउँपालिका- ७ का केशब खड्का र उहाँकी श्रीमती सरला राणा खड्काले आफ्नो बिबाह वर्षगाँठको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।
चार वर्ष अघि बिबाहमा हुने फजुल खर्च बचाएर निर्माण गरेको अक्षयकोषबाट आएको लाभांसबाट आज वडामा रहेको एक विद्यालयमा आर्थिक सहयोग गर्नुभएको हो ।
खड्का दम्पतीले विवाह खर्चको रकमले शैक्षिक सुधार तथा शैक्षिक सम्मान अक्षयकोष, २०७७ स्थापना गर्नुभयो । सोहि अक्षय कोषको ब्याज रकममा केहि रकम थप परेर शनिबार त्रिवेणी गाउँपालिका ७ कुरलमा रहेको बालकल्यान आधारभूत विद्यालयलाई ६२ हजार रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।
विवाह कार्यमा खर्च हुने रकम जोगाएर शैक्षिक सुधार तथा शैक्षिक सम्मान अक्षयकोष, २०७७ स्थापना गरेको केशब खड्काले बताउनुभयो । खड्का दम्पतीले शनिबार विद्यालयमै पुगेर सहयोग र विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नुभएको हो ।
विद्यालयमा हस्तान्तरण गरिएको उक्त सहयोग रकमबाट विद्यार्थीहरुलाई कापी, कलम, शैक्षिक सामग्री र नगद सहयोग प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश ओलीले जानकारी दिनुभयो ।
यस्तै विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने केशब खड्का र उहाँकी श्रीमति सरला रानालाई विद्यालयले धन्यवाद दिएको छ ।