कोही जन्मियो वा मर्यो
कसैको विवाह होस् वा वैवाहिक वर्षगाँठ
जन्मदिन , पास्नी वा भोजभतेर
नाच, गान, बजान वा टिकटक
दशै , तिहार, इद, क्रिसमस वा अन्य पर्व
मन्दिर , पूजाआजा ,तीर्थवर्त वा घुमफिर
कसैको जागिर , सरुवा ,बढुवा वा अवकाश
कसैको सफलता, असफलता वा पुरस्कार
आमसभा , शिलान्यास वा उद्घाटन
सरकार बन्यो , फुट्यो वा पार्टी प्रवेश
कसैले माला लायो वा खादा भिर्यो
यी साराका सारा कुराहरूको सूचक
तिमी नै रहेछौ “फेसबुक” तिमी नै रहेछौ।
कोही अमेरिका पुगोस् या अन्य देश
कसैले घर बनाओस् या किनोस्
कसैले होटल थापोस् कि पसल
कसैकोमा पाहुना आओस् या जाओस्
फुपू , मामाघर, माइती वा ससुराली
भेटघाट , भलाकुसारी या बिदावारी
कविता , कथा या कुनै कथन
बधाई , शुभकामना या समवेदना
कतै पानी पर्यो या बाढी आयो
चिसो , गर्मी , असिना या हिमपात
तिमी सारा जगतमा नै जगजाहेर छौ।
कतै बाटो बन्यो वा भत्कियो
प्राकृतिक प्रकोप वा महामारी
कसैले बाख्री किन्यो वा कसैको बाख्री ब्यायो
कसैले धान रोप्यो या मकै गोड्यो
कसैले कुखुरा काट्यो या माछा मार्यो
कसैले केरा खायो वा बोक्रै चपायो
कोही अस्पताल गयो वा डिस्चार्ज
कसैले छोरा खेलायो या नातिनातिना
कोही ट्वाइलेट छिर्यो या बाथरुम
कसैले श्वास फेर्यो अपनवायु फ्याँक्यो
हो, “फेसबुक”
तिमी त सबैको मनमुटुमा विराजमान छौ
सारा कणकणमा व्याप्त छौ।
तिम्रै योगदानले कतिले त
घरले गइजा र घाटले आइज भन्ने उमेरमा
स्वास्नीमाथि स्वास्नी थप्ने मौका पाएका छन्
कोही आफ्नो लोग्ने विदेश खेदेर
लोग्नेकै कमाइले नाठो पोस्ने मौका पाएका छन्
कति छन् कति तिम्रा योगदानहरु
न गनि साध्य न भनी साध्य ।
धन्य ! फेसबुक
म कति गरुँ तिम्रो बयान
जति बखान गरेपनि अपुरो हुने
जति लेखेपनि अधुरो हुने
तिम्रा सबै सबै तारिफहरु
न किताबमा समेट्न सकिन्छ
न डोकोमा अटाउँन सकिन्छ
यदि तिमी नभइदिएको भए
साराका सारा गतिविधिहरु
अज्ञातको अज्ञात नै हुनेरहेछन्।
धन्यवाद छ मार्क जुगरवर्गलाई पनि
तिमीलाई जन्म दिएर उनले
दुनियाँलाई लाउनु गुण लाएका छन्
तिम्रो प्राप्तिमा कृतार्थ छ सारा जगत।
त्यसैले हे, ” फेसबुक”
संसारभरिकै मनुवाहरुको तर्फबाट
र म फुच्चे जीवात्माकको तर्फबाट पनि
साधुवाद छ तिमीलाई
एकमुष्ट साधुवाद छ।
नोट – नितान्त रमाइलोका लागि ।