काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार बिहीबारदेखि रोक्का गरिएको हो ।
नेप्सेका सूचना अधिकारी मुरहरी पराजुलीले अर्को व्यवस्था नभएसम्मका लागि कर्णाली डेभलपमेन्ट बैंकको संस्थापक लगायत सबै शेयर कारोबार रोक्का गरिएको जानकारी दिए । उनले भने, ‘आजदेखि हामीले यस बैंकको शेयर कारोबार रोक्का गरेका छौँ । अब अर्को व्यवस्था नभएसम्म यस बैंकको शेयर कारोबार हुँदैन ।’
मङ्गलवारसम्म यस बैंकको शेयर कारोबार भएको थियो । बुधवार शेयर बजार बन्द रहेकाले कारोबार भएन । मङ्गलवार बैंकको शेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ थियो । अब यस बैंकको शेयर कारोबार पुनः हुन समय लाग्ने देखिन्छ । लामो समयसम्म यस बैंकको शेयर बन्धक हुने देखिन्छ ।