रुकुम पश्चिमको आठबिसकोटमा नेपाली कांग्रेसको खुला आमसभा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस आठबिसकोट नगर समितिले शनिबार आयोजना गरेको आमसभालाई नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एवम् कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले सम्बोधन गर्नुभएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभएका शाहीले विकासप्रेमी र जनताको मन जित्ने नेता आवश्यक रहेको बताउनुभयोे ।
नेपाली कांग्रेसको कर्णाली प्रदेश सभा संसदिय दलका नेता समेत रहनुभएका नेता शाहीले सशस्त्र जनयुद्धबाट आएको माओवादी केन्द्रले रुकुममा नेतृत्व गरेको बर्षौ हुँदा पनि गुणस्तरिय विकास र जनताको अवस्था बदल्न नसकेको जनाउनुभयो । उहाँले भन्नुभयो, ‘सशस्त्र द्वन्द्वले देशको विकास अवरुद्ध भयो, गणतन्त्र स्थापनापछि जनतालाई किनेर भेडा बनाउने काम भयो, अब जनतालाई झुक्काएर, ठगेर खानेका दिन गए ।’
कांग्रेस नेता शाहीले माओवादीहरुले विगतमा अरुलाई सामन्ती भन्ने गरेको, तर आज सत्तामा पुगेर आफै सामन्ती बनेको आरोप लगाउनुभयो । नेपाली कांग्रेसको काँधमा देश बनाउने जिम्मेवारी थपिएको उल्लेख गर्नुहुँदै उहाँले जनतालाई शिक्षित र पुजिँपति बनाउन चाहेको बताउनुभयो । उहाँले कांग्रेसले बोलेर भन्दा नि काम गरेर देखाउँने दाबी गर्नुभयो ।
शाहीले जनप्रतिनिधिहरुलाई लक्षित गर्दै अरूले गलत गरे हामी पनि गर्न पाऊँ भन्ने सोच त्यागेर हामीले विकास गर्ने हो, जनताको जीवनस्तर बदल्ने हो भन्ने सोचेर काम गर्नुपर्ने बताउनुभयो । रुकुमबाट धेरै युवाहरु बिदेश पलायन भएको सन्दर्भमा उहाँले गाउँमै विकास र रोजगार पाएको भए अवैध बाटो अमेरिका र अन्य देश जानुपर्ने बाध्यता अन्त्य हुने जनाउनुभयो ।
उहाँले रुकुम जनयुद्ध देखि नै पीडित भएको जिल्ला भएकोले आफूले सधै सकारात्मक साथ दिने प्रतिबद्धता जनाउनुभयो । आमसभामा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मान बहादुर नेपाली, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाह, जलश्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढा, कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओली लगायतका नेताहरु बोल्नुभएको थियो ।
नेपाली कांग्रेसका जिल्ला सचिव तारक शाहीले सञ्चालन गर्नुभएको आमसभाको अध्यक्षता आठबिसकोट नगर सभापति अमृत बोहराले गर्नुभएको थियो ।