सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली पत्रकारिताले अभाव मात्र नभएर सम्भावनाका उपाय पनि औल्याउनुपर्ने बताउनुभएको छ ।
बुधबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशमा निर्वाचित समितिलाई बधाई ज्ञापनका क्रममा कर्णालीको समृद्धिका लागि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले नेपाली राजनीति र समाजलाई दिशानिर्देश गर्न पनि पत्रकारिताको भूमिका अहम रहने उल्लेख गर्नुभयो । ‘तपाईहरुको काम सधै निष्पक्ष हुन जरुरी छ, राजनीतिक दलहरुलाई पनि झकझक्याउन बेलाबेलामा तपाइहरुको पनि कलम चल्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘पत्रकारको पेशागत हकहितका सवालमा म र मेरो दल सधै सकारात्मक छ, आगामी दिनमा पनि पत्रकार महासंघसंग निकटमा रही सहकार्य गरिनेछ ।’
त्यस्तै अर्को प्रसंगमा भर्खरै कर्णालीका विभिन्न जिल्लाका कार्यक्रमहरुमा सहभागी भएर सुर्खेत फर्किएको बताउदै उहाँले योबीचमा जनताले दिएको मायाप्रति आभार व्यक्त गर्नुभयो ।
‘जनताको मायाले ममाथि थप जिम्मेवारीबोध भएको छ, जनतासँग भेटघाटका क्रममा उहॉहरुले मप्रति ठूलो भरोसा र अपेक्षा राख्नुभएको छ, त्यसलाई कसरी पूरा गर्ने भन्नेबारेमा म चिन्तित छु,’ उहाँले भन्नुभयो, ‘जनतालाई विकास चाहिएको छ, ती आवश्यक्ता पूरा गर्न सबै दल एक भएर लाग्न जरुरी देखियो ।’