मुसिकोट । नेपाल पत्रकार महासंघले रुकुमको पत्रकारिताको सवालमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार जिल्ला सदरमुकाम मुसिकोटमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी सस्थाका प्रतिनिधिहरु लगायतसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सरोकारवालाहरुले पत्रकारहरुले निर्धक्क भएर समाचार लेख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले सत्य, तथ्य समाचार मार्फत समाजको हितमा कलम चलाउनु पर्ने जनाएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देव बहादुर बिकले प्रलोभन र त्रासमा नपरी सच्चा पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा उच्च नैतिकता रहने भएकोले त्यसमाथि कसैले प्रश्न उठाउने गरी काम नगर्न समेत जिल्लाका पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
त्यसैगरी मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले पत्रकारीतामा टिक्न गाह्रो हुने गुनासो आईरहेको तर यसको उचित व्यवस्थापन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले आफूहरु नजिकबाट सहयोग तयार रहेकोले समाजको हितको लागि पत्रकारितामा लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा त्रिवेणी गाँउपालिका अध्यक्ष गणेश कुमार केसीले पत्रकारीतामा बार्गेनिङ गर्ने गलत काम पनि हुने गरेकोले रुकुममा पत्रकारहरु त्यतातर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजका लागि डटेर लड्नुस, खोजेर लेख्नुहोस् तर इमान र जमानका साथ काम गर्नुस, हामी साथमा छौं ।’ रुकुमको पत्रकारिताले विकास र उपलब्धि हाँसिल गर्दै गईरहेकोले राम्रो कामको निरन्तरता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुल बहादुर जीसीले हिजो भन्दा आज र आज भन्दा भोली राम्रो गर्नुपर्छ भनेर कर्म गर्नुपर्ने जनाउनुभयो । जहाँ पारदर्शिता हुन्छ, त्यहाँ कुकर्म न्यून हुने भएकोले सूचना दिएर पारदर्शिता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले सबैको सहकार्य तथा हातेमालोबाट सकारात्मक परिणाम ल्याउन सकिने भएकोले मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष गणेश चिन्तनले विश्वासको अभाव बढिरहेको समाजमा पत्रकारिता क्षेत्रले त्यो खाडल पुर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले पत्रकार महासंघमा निन्दकहरुको भिड रहेको उल्लेख गर्नुहुँदै महासंघ सजक हुनुपर्नेमा जोड दिनुभयो ।
मानव विकास तथा सामुदायिक सेवा चौरजहारीको सहयोगमा भएको उक्त कार्यक्रममा जिल्लास्थित क्रियाशिल पत्रकारहरु, विभिन्न कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमा अध्यक्ष गोपाल प्रासद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र महताराले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुमित्रा केसीले राख्नुभएको थियो भने कार्यक्रमको उद्धेश्य माथि उपाध्यक्ष देवकुमार ओलीले प्रकाश पार्नुभएको थियो ।