काठमाडौँ । चितवनमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको छ । माडी नगरपालिका- ३ का चार पुरुषलाई आज दिउँसो गैंडाले आक्रमण गर्दा भैंसी चराउन गएका ५६ वर्षीय छविलाल बोटको घटनास्थलमै मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार निकुञ्ज क्षेत्रमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणमा पर्ने अन्य तीन जनामा माडी नगरपालिका- ३ घर भएका ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट रहेका छन् ।
उनीहरुमध्ये हेमराज महतो र राजु बोटको शरीरमा चोटपटक लागेको छ । उनीहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । राजु बोटको अवस्था सामान्य भएकाले उनलाई भने घर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।