मुसिकाेट । सवै खाले आन्दोलनका क्रममा आफ्नो ज्यान आहूति दिने सहिदको सम्झनामा रुकुम पश्चिममा दिप प्रज्वलन गरिएको छ ।
बुधबार जिल्ला समन्वय समिति रुकुम पश्चिमको परिसरमा दिवसको अवसरमा दिप प्रज्वलन गरिएको हो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले सहिदहरुको योगदान तथा बलिदानीबाट नै मुलुकमा आमुल परिवर्तन भएको बताउनुभयो ।
सहिदहरुको बलिदानी, त्याग र संघर्षको कारण मुलुकमा प्रजातन्त्र, गणतन्त्र आएको उहाँको भनाई छ । मुलुकको व्यवस्था परिवर्तनको लागि रगतको भेटि चढाएका महान् सहिदहरु अमर अजर रहेकाले हरेक वर्ष माघ १६ लाई ऐतिहाँसिक दिनको रुपमा लिईएको गौतमले बताउनुभयो ।
दिप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देव बहादुर बिक, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द रोका, नेपाली कांग्रेसका पार्ती प्रवक्ता लालबहादुर ओली, भूमि आयोगका जिल्ला अध्यक्ष सशिराम नेपाली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गिरी प्रसााद बुढा लगायतको उपस्थिति रहेको थियो ।
समन्वय समिति प्रमुख गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निमित्त जिल्ला समन्वय अधिकारी दुर्ग बहादुर ओलीले गर्नुभएको थियो ।