पूर्व मुख्यमन्त्री शाहीद्वारा पश्चिम सुर्खेतका विभिन्न योजनाको अनुगमन

पूर्व मुख्यमन्त्री शाहीद्वारा पश्चिम सुर्खेतका विभिन्न योजनाको अनुगमन

सुर्खेत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको टोलीले आज पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाका विभिन्न विकास योजनाहरुको अनुगमन तथा स्थानीय जनतासँग भेटघाट गरेको छ।

भेटघाटका क्रममा बराहताल गाउँपालिका वडा नं १० टाँटीका स्थानीयहरूसँग अन्तक्रियासमेत गरिएको थियो । सो अवसरमा वडा सभापति प्रदीप जिसीले पूर्व मुख्यमन्त्री शाही समक्ष खानेपानी, सडक लगायतका पूर्वाधारहरूको विस्तार तथा स्तरोन्नतिको माग राख्नु भएको थियो ।

त्यस्तै, वडा नं ८ दमारमा पनि पूर्व मुख्यमन्त्री शाहीले कार्यकर्ता भेटघाट गर्नुभएको थियो । सो क्रममा वडा सभापति फत्तबहादुर गौतमले ओदालतालदेखि दमार हुँदै बडीचौर जोड्ने कृषि सडकको स्तरोन्नति, आलडाँडा खानेपानी ट्याङकी निर्माण र पाइपलाइन विस्तार, सिँचाइ कुलोको अपूरा रहेको कामलाई निरन्तरता दिनेलगायत योजनामा बजेट माग गर्नुभएको थियो । साथै, विद्युत् सेवा नपुगेका बस्तीहरूमा लाइन विस्तार तथा व्यहोराघारी सिँचाइ कुलो निर्माणका लागि पनि आग्रह गरिएको गौतमले बताउनुभयो ।

यसैगरी, वडा नं ८ कुनाथरीमा रहेको कल्पना आमा कृषक समूहसँग पनि भेटघाट भएको थियो। समूहका अध्यक्ष कृष्णा नेपालीले नमुना गाउँ तथा नमुना कृषि क्षेत्रमा समूहले पुर्‍याएको योगदानबारे जानकारी गराउँदै समूहको भवन मर्मत तथा नयाँ भवन निर्माणका लागि पहल गर्न अनुरोध गर्नुभयो । साथै राधाकृष्ण मूर्ति स्थापनाका लागि पनि सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

पूर्व मुख्यमन्त्री शाहीले पश्चिम सुर्खेतस्थित नमुना विद्यालय जनज्योति माध्यमिक विद्यालयको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा कमाउदै सिक्दै कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । पूर्व मुख्यमन्त्री शाहीले विद्यालयमा अध्ययनरत विद्यार्थीसंग पनि भेटघाट गर्नुभयो ।

पूर्व मुख्यमन्त्री शाहीले स्थानीय विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै आफू सधैं जनतासँगै रहने बताउनुभयो। उहाँले विद्यालयसहित अन्य वडामा स्थानीयले राखेका मागहरु तत्काल सम्बोधन गर्न पहल गर्ने बताउनुभयो । जनताका मागलाई सम्बन्धित निकायमा पुर्याउन आफू निरन्तर लाग्ने उहाँको भनाइ छ ।

अनुगमन तथा भेटघाट कार्यक्रममा कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढा, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, पूर्व सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावत, नगर सभापति उपेन्द्र खड्का, बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी पुनलगायतको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार