सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले स्थानीय सरकार सशक्त भए मात्र सेवा प्रवाह प्रभावकारी हुने बताउनुभएको छ। आज सुर्खेतको बराहताल गाउँपालिका ५ नं. वडा कार्यालयको नव निर्मित भवनको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
मन्त्री बुढाले उद्घाटन समारोहमा बोल्दै भन्नुभयो, “यो भवन स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै नागरिकहरूलाई अझ सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो। भौतिक पूर्वाधारको विकाससँगै, हामीले सेवा प्रवाहको गुणस्तरीयता सुधार गर्नका लागि पनि काम गर्दैछौँ।” सरकारको प्रतिबद्धता पनि व्यक्त गर्दै मन्त्री बुढाले कर्णाली प्रदेशका हरेक नागरिकसम्म विकास र सुविधाको पहुँच पुर्याउनका लागि विभिन्न योजनाहरू अघि बढाइरहेको जानकारी दिनुभयो।
यसका साथै मन्त्री बुढाले कर्णाली प्रदेश सरकारले जलस्रोत र ऊर्जा विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर यहाँका जनतालाई आवश्यक सेवा र सुविधा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो सरकारले निरन्तर रूपमा विकास र जनसेवामा सुधार ल्याउने प्रयास गरेको छ । यस अवसरमा, मन्त्री बुढाले कर्णाली प्रदेशको समृद्धिका लागि सबै जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूलाई एकजुट भएर काम गर्न आह्वान गर्नुभयो ।
यस्तै बड्डिचौर सिंचाई जल उपभोक्ता समिति कुुनाथरी ३ र ४ का अध्यक्ष दिपक नेपालीले मन्त्री बुढालाई सिंचाई सुविधाको सुधार र विकासका लागि बजेट व्यवस्थापनका सम्बन्धमा माग पत्र पेश गर्नुभएको छ ।
उक्त भवन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्घाटन गर्नु भएको छ । पहिलो र दोस्रो तला निर्माण सम्पन्न भएसँगै भवनको कुल लागत २ करोड ३० लाख पुगेको छ।


 
					
							 
			 
                             
                             
                             
                             
                            