काठमाडौं । नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि आन्तरिक तयारी सुरु गरेको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्वय गर्नेगरी प्रदेशगत रुपमा सात नेतालाई जिम्मेवारी दिइएको छ ।
पार्टी केन्द्रले गरेको तयारी र महामन्त्री विश्वप्रकाश शर्माले तल्लो तहमा गरेको सर्कुलरलाई सञ्चार माध्यममा लान नहुने निर्देशन छ ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले स्ववियु निर्वाचनको मिति आगागी चैत ५ गतेका लागि तोकेको छ । स्ववियु निर्वाचन नजिकिएसँगै पार्टीका नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको छ ।
सहमहामन्त्रीहरूमा भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी तोकिएको छ । साथै, लुम्बिनीमा नेताहरू चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई खटाइएको छ ।
स्ववियु निर्वाचनमा पार्टीले निर्णय गरेर सक्रिय नहुने केन्द्रीय तहका नेता बताउँछन् । एक पूर्व विद्यार्थी नेता भन्छन्, ‘पार्टीले निर्णय गरेर स्ववियु निर्वाचनमा लाग्दैन । विद्यार्थी राजनीति गरेर आएकाहरूको चासो हुनु स्वभाविक हो ।’
पार्टी शीर्ष तहबाट महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी पाएका छन् । पार्टी केन्द्रीय कार्यालयबाट संयोजन गर्नेगरी केन्द्रीय सदस्य नानु बाँस्तोलालाई जिम्मेवारी दिइएको छ ।
त्रिभुवन विश्वविद्यालयले ६२ आंगिक एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागेको छ ।