काठमाडौं । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा समाचार संकलनकै क्रममा पत्रकार सुरेश रजकको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघको आयोजनामा आज बिहान काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।
यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।
कार्यकर्ताहरुले तिनकुनेको एक घरमा आगजनी गरेको थिए । सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई गेटमा ताल्चा लगाइदिएर भित्रै थुनेका थिए । सोही क्रममा जलेर उनको मृत्यु भएको हो ।