सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल मार्फत संघीय सरकारलाई ध्यानकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलरअनुसार पत्रकार हत्या र मिडिया माथि भएको तोडफोड तथा आगजनीको विरोध एवं दोषी उपर कारबाहीको माग गर्दै मुख्यमन्त्री कँडेलमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मण केसी नेतृत्वको पत्रकारहरुले मुख्यमन्त्री कँडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा तीनकुने घटनाको गम्भीर अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायलगायत विभिन्न पत्रकारका पेशागत संघ–संगठनका प्रमुख, प्रतिनिधि र क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो। महासंघले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ।
पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा आगजनी र ढुंगामुढा प्रहार गरी क्षति पु¥याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा हानिएको, हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड भएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको ध्यानाकर्षण पत्रमा उल्लख छ ।
महासंघले पत्रकार रजकको हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न, उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरूलाई कानुनी दायरामा ल्याउन, क्षतिग्रस्त सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्ति प्रदान गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ। साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नहरूलाई तत्काल कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यमको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। पत्रमा मागहरू एक साताभित्र सम्बोधन नभए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।
महासंघका महासचिव खगेन्द्र भट्टराईका अनुसार आजै कर्णालीका दशवटै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री कँडेलले गणतन्त्रमा व्यक्ति विशेषको कमजोरीले प्रश्न उठ्नु स्वाभाविक भएको बताउँदै गणतन्त्रको विकल्प राजतन्त्र नभएको दाबी गरे। उनले लोकतान्त्रिक व्यवस्थामा नेतृत्वको विरोध र विकल्प खोज्न पाइने भए पनि व्यवस्थाको विरोध गर्न नहुने धारणा राखे। “नेपालको राजनीति परिवर्तनका आन्दोलनमा पत्रकारिताको भूमिका महत्वपूर्ण छ, तीनकुनेको घटना दोहोरिनु हुँदैन,” उनले भने। साथै, पत्रकारको पेशागत हकहित र प्रेस स्वतन्त्रताको सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।