काठमाडौँ । उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै रास्वपा सभापति रवि लामिछानेले आफै गिरफ्तारी दिने बताएका छन्।
शुक्रबार फेसबुकमा लेख्दै उनले सम्मानित अदालतको आदेशको सम्मान गर्दै आफै, आजै, अहिले नै गिरफ्तारी दिन लागेको बताएका हुन्।
उनले लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै, आजै, अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। म माथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्।’
रविलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली बुढानीलकण्ठस्थित उनको निवास पुगेको स्रोतले बताएको छ। स्रोतका अनुसार प्रहरी वृत्त महाराजगन्जका प्रहरी पनि छन्।
शुक्रबार बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको हो।
यसअघि माघ १३ गते रविलाई एक करोड रूपैयाँ धरौटीमा छाड्न रूपन्देही अदालतको आदेश दिएको थियो। त्यसपछि फागुन १६ गते रविले जिल्ला अदालत रूपन्देहीको आदेश बदर गरी पाऊँ भन्दै उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दिएका थिए।


 
					
							 
			 
                             
                             
                             
                             
                            