सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब पुग्ने सम्भावना घटेको हो ।
कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरे पनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो । निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप लगाएको छ । सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिई बिक्री गरेको जनक शिक्षाको आरोप छ ।