चोरमारास्थित गिरिबारी पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन

चोरमारास्थित गिरिबारी पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन

पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । तस्वीर : सडक डिभिजन कार्यालय भरतपुर ।

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी साधन सञ्चालन गरिएको छ ।

पुल भासिएर राजमार्ग पूर्ण रुपमा बन्द भएपछि सोमबार राति १२ बजेदेखि नै वैकल्पिक सडक खुलाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिणतर्फ लागि तम्सरिया गाउँबाट खोला (हाल पानी नभएको) तरी रानीटार हुँदै फूलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिनेछ ।

पश्चिमबाट आएका सवारी साधनको हकमा फूलबारीबाट दक्षिणतर्फ लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने वैकल्पिक बाटोहरुको प्रयोग गरी हाल सञ्चालन भएको प्रहरीले जनाएको छ ।

टेलरलगायतका ठूला गाडीहरु भने भित्री सडकमा मोड नपुग्ने भएकोले सञ्चालनमा समस्या भएको छ । ती सवारी साधनलाई अन्य वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले भनेको छ ।

चोरमारामा सोमबार राति ट्रक गुडिरहेको बेलामा पुल भासिएको थियो । १८ चक्के ट्रकले गाडी पार गर्न खोज्दा पुल भासिएको थियो ।

यसअघि २०८१ सालको पुस महिनामा पूर्वीनवलपरासीकै विनयी खोला पुल भाँचिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार