सुर्खेत । नेपाल वन प्राविधिक संघ कर्णाली प्रदेशको प्रथम बैठकबाट १३ बुँदे घोषणापत्र जारी गरिएको छ ।
पेशागत हकहित, पेशागत मर्यादा र व्यवसायिक दक्षता नारासहित आयोजना गरिएको सपथ ग्रहण तथा पहिलो बैठकले वन पेशालाई मर्यादित बनाउन वन प्राविधिकहरुको क्षमता, दक्षता र सेवाको गुणस्तरीयतालाई कायम राख्ने, वन विज्ञान विषयमा गुणस्तरीयता राख्न राष्टिय वन परिषद् स्थापनाका लागि पहल गर्नेलगायत निर्णय गरेको छ ।
बैठकले कर्णाली प्रदेशका प्राकृतिक स्रोतको समुचित एवं प्रभावकारी व्यवस्थापनमार्फत कर्णालीको आर्थिक समृद्धिमा टेवा पुर्याउनको लागि उत्पादनशील वन क्षेत्रहरुमा वन सम्बद्र्धनमा आधारित दिगो वन व्यवस्थापन प्रणालीलगायतका विज्ञानसम्मत वन व्यवस्थापन विधिहरु प्रयोगका लागि पहल गर्ने निर्णय भएको अध्यक्ष शेरबहादुर परियारले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा वन प्राविधिकको व्यवस्थापन गर्न पहल गर्ने र वन कार्यालयहरुमा पर्याप्त जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको सांगठनिक संरचनामा परिमार्जनको लागि पहल गर्ने निर्णय पनि भएको छ ।
गत वैशाख १६ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको वन प्राविधिकहरुको भेलाले शेर बहादुुर परियारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । जसको उपाध्यक्षमा नवराज पौडेल, सचिव सुदर्शन पाण्डे र रोजिना श्रेष्ठ तथा कोषाध्यक्ष होमकुमारी न्यौपाने निर्वाचित हुनुभएको थियो ।
समितिको सदस्यमा हेमराज अवस्थी, पवेन बुढा, सपना रावल, आशिका पौडेल, भूमिप्रकाश चौधरी र राधिका महत हुनुहुन्छ ।