मुसिकोट । रूकुम पश्चिममा विद्युत मर्मतका लागि बिजुलीको पोलमा काम गर्दै गरेका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।
रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्वर ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बिहिबार राती मुसिकोट नगरपालिका ४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा पोलमा चढेका खड्कालाई करेन्ट लागेको थियो ।
खड्का नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत रहेको बताईएको छ । रूकुम पूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
केन्द्रीय प्रशारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।
खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ ।